नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभाग

नेपाल सरकार
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
भूमि व्यवस्थापन तथा अभिलेख विभाग
भूमिसुधार तथा मालपोत कार्यालय कन्चनपुर
कन्चनपुर

हाम्रो बारेमा

 
    कञ्चनपुर जिल्ला नेपालको सुदूरपश्चिममा भारतीय सिमासंग जोडिएको महाकाली अञ्चलको एक मात्र तराई जिल्ला हो । पहिले नेपालको बाइसे चौबिसे राज्य रहेका बखत यो जिल्ला डोटी राज्यको सिमा क्षेत्रमा पर्दथ्यो । त्यति बेलासम्म यस जिल्लाको नामकरण भै सकेको थिएन । ऐतिहासिक पृष्ठभूमि हेर्दा इस्वी सन् १८१४ देखि १८१५ सम्म अंग्रेजसंग भएको युध्द पछि सन् १८१६ मा गरिएको सुगौली सन्धिबाट कालीपारी पश्चिमको सम्पूर्ण भू–भागमा ब्रिटिश इण्डियामा गाभिएको पाईन्छ । सन् १८६० को प्रत्यावर्तन सन्धि भएपछि मात्र यो क्षेत्र अर्थात् कैलाली, कञ्चनपुर, बाँके, बर्दियासम्मको तराई खण्डमा मुलुकको रुपमा नेपालमा आबद्ध भएको पाईन्छ । नेपालको अंग बने पछि कैलाली र कञ्चनपुर छुट्टै बन्न पुगेका हुन । कञ्चनपुर नयाँ जिल्ला बनेपछि सर्वप्रथम यसको सदरमुकाम साबिक श्रीपुर गा.बि.स.को बेलौरी बजारमा रहेको र सोहि बेलौरीको कञ्चनपुर जिल्लाको नामाकरण हुन् गएको हो वन्ने इतिहासबाट देखिन्छ साथै वि.स. २०१९ सालपछि कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा सरेको छ र महेन्द्रनगर क्षेत्रको सेरोफेरोमा रहेको प्रख्यात शुक्लाफाँटा वन्यजन्तु आरक्ष पनि यसै जिल्लामा पर्दछ उक्त साबिक शुक्लाफाँटा वन्यजन्तु आरक्ष मिति २०७३.११.०९ देखि आरक्षबाट निकुञ्जमा परिणत भएको छ ।
     यसै सिलसिलामा नेपालमा बि.स. २०१८ सालदेखि जग्गा प्रशासनको लागि ७५ जिल्लामा माल अड्डाहरु स्थापना गरिए । मालपोत असुल गर्न बि.स. २०२६ सालमा मालपोत कार्यालयलाई तत्कालीन अर्थ मन्त्रालयको मालपोत विभाग अन्तर्गत रहने गरि स्थापना गरियो ।  वि.स. २०२८ सालमा मालपोत कार्यालयको नाम कोष तथा तहसिल कार्यलयमा परिणत भयो । परिवर्तित सन्दर्भलाई अंगिकार गर्दै मालसवाल, मुलुकी सवाल, समेतलाई समेटी मालपोत ऐन, २०३४ जारी भै बि.स. २०३५ वैशाख १ गते देखि अर्थ मन्त्रालय अन्तर्गत छुट्टै मालपोत कार्यालयहरु स्थापना भए । कञ्चनपुर जिल्लामा बि.स. २०३५ बैशाख ०१ गते देखि मालपोत कार्यालयको स्थापना भएको हो ।  मालपोत ऐन २०३४ को व्यवस्थाले भूमि प्रशासन ऐन, २०२४ मालपोत (विशेष व्यवस्था) ऐन, २०१८ मालपोत (मिन्हा ऐन), २०१९ मधेश माल सवाल र पहाड मालसवाललाई निस्कृय गरेको थियो । हालसम्म विद्यमान यहि ऐनले प्रत्येक जिल्लामा मालपोत कार्यालय रहने, भूमि प्रशासनको कम भूमिसुधार अधिकारी तथा मालपोत कार्यालयमा सर्ने, माल अड्डा, कोष तथा तहसिल कार्यालय वा भूमि प्रशासनले गर्ने काम मालपोत कार्यालयले गर्ने, जग्गाको दर्ता गर्ने, रजिस्ट्रेशन, नामसारी, दाखिल खारेज तथा लगतकट्टा गर्ने, घरजग्गा रोक्का फुकुवा गर्ने, मिन्हा गर्ने आदि व्यवस्था गरेको छ । यो ऐन लागु हुँदा वि.स. २०३५ साल बैशाखमा २७ जिल्लाबाट शुरु भै वि.स.२०५६ साल मंसिर सम्ममा ७५ वटै जिल्लामा लागु गरिएको थियो ।

मालपोत कार्यालय कञ्चनपुरको परिचय

मालपोत कार्यालय महेन्द्रनगर कञ्चनपुर मालपोत ऐन २०३४ लागु भै मालपोत कार्यालयमा परिणत हुनु अगाडि माल अड्डा कञ्चनपुरको  रुपमा सञ्चालित रहेको थियो । मालपोत ऐन २०३४ लागू भए पश्चात मिति २०३५ बैशाख ०१ गते देखि मालपोत कार्यालय कञ्चनपुरमा परिणत भयो । जनतालाई पायक पर्ने स्थानमा मालपोत कार्यालय खोल्ने नेपाल सरकारको योजना अनुसार वि.स.२०७२।०१।०२ मा यस जिल्लाको पुर्व दक्षिण भेग तत्कालीन श्रीपुर गा.वि.स.को बेलौरी बजारमा मालपोत कार्यालय स्थापना भयो । साविकमा मालपोत कार्यालय कञ्चनपुर अन्तर्गत रहेका तत्कालीन अवस्थामा १ नगरपालिका र १९ गा.वि.स.थिए भने मालपोत कार्यालय बेलौरीको लागि साविक १० गा.वि.स. कायम गरियो । यसरी हाल आएर मालपोत कार्यालय महेन्द्रनगर कञ्चनपुर अन्तर्गत साबिक ९ गा.वि.स. र साबिक भीमदत्त नगरपालिका १ रहेका छन् ।  यस कञ्चनपुर जिल्लामा गुठी संस्थानको कार्यालय नभएको उक्त निकायको कार्य समेत यस मालपोत कार्यालयले गर्दै आएको छ ।  कार्यालय स्वीकृत दरबन्दी १८ जना रहेको छ । प्रमुख मालपोत अधिकृत (उपसचिव स्तर) द्वारा कार्यालयको नेतृत्व गरिएको छ । यो कार्यालय जिल्ला कञ्चनपुर भीमदत्त नगरपालिका वार्ड न. ४ सिद्धनाथ मन्दिरको उत्तर पट्टी आफनै भवनमा सरेको छ । घर रहेको जग्गाको क्षेत्रफल ५ कट्ठा रहेको छ ।
 

यो वेवसाईट

free
hit counter
पटक हेरिएको छ ।

© सर्वाधिकार सुरक्षित (भूमि व्यवस्थापन तथा अभिलेख विभाग)